रौतहट,०६ फागुन। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आफू मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित गर्न तत्पर रहेको बताएका छन् ।जनकपुरधाममा मंगलबार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले प्रतिष्ठानको विकासको लागि सकेजति प्रदेश सरकारले सहयोग गर्ने र दातृनिकायलाई समेत सहयोगका लागि आग्रह गर्ने बताए ।
उनले मधेश प्रदेशको जनसंख्या करिब ६५ लाख रहे पनि यहाँ उचित उपचारको अभाव अहिले पनि रहेकोले प्रतिष्ठानलाई बलियो र गुणस्तरीय सेवा सुविधा र आमजनको सहज पहुँचका लागि व्यवस्थापन तर्फ गम्भीर हुनु आवश्यक रहेको बताए ।
उनले प्रदेश सरकारको बजेटमा पनि शिक्षक, होस्टेल, व्यवस्थित होस्पिटललगायतका आवश्यक सहयोग गर्नका लागि छुट्याइएको बताए । जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई काठमाण्डुको वीर होस्पिटलको स्तरमा पु¥याउने लक्ष्य प्रदेश सरकारको रहेको उनको भनाइ छ । मुख्यमन्त्री यादवले जस्तो सुकै विरामीको उपचार जनकपुरधाममै सम्भव होस् भन्ने उद्देश्यले प्रदेश सरकारले आमजनको सुविधाका लागि गम्भीर रहेको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायले प्रतिष्ठानको विकासका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्ने भन्दै तत्काल प्रतिष्ठानको आवश्यक विकास निर्माणको कार्यतर्फ गम्भीर हुन आग्रह गरे । त्यस्तै डा. प्रमोद यादवले प्रतिष्ठानको विकासका लागि आफूहरु गम्भीर रहेको बताए । उनले उक्त प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माणतर्फ अझै पनि बाँकी रहेकाले प्रदेश सरकारले छुट्याएको बजेट अनुसार टेण्डर आह्वान छिट्टै प्रक्रिया अघि बढाइने बताए ।
उनले प्रतिष्ठानको भवन र तीन सय जति शैय् याको आवश्यकता रहेको बताए । यस प्रतिष्ठानमा भौतिक पूर्वाधारसंगसंगै मानव संशाधनको आवश्यकता रहेको उनले बताए । नेपालको करिब ३८ जिल्लाबाट विद्यार्थीहरु अहिले प्रतिष्ठानमा अध्ययरत रहेको उनले बताए ।
उक्त समारोहमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. अंकुर साह, शिक्षाध्यक्ष रामनरेश पण्डित, रजिष्ट्रार प्रा.डा. विनोद कुमार यादवलगायतकाले स्थापना दिवसदेखि हालसम्मको अवस्थासम्मबारे आफ्नो अनुभव र प्रतिष्ठानको आवश्यकताबारे बोलेका थिए । उक्त समारोहमा मुख्यमन्त्री यादवले प्रतिष्ठानले प्रकाशित गरेको कोशिश मुखपत्रको समेत लोकार्पण गरेका थिए । उक्त प्रतिष्ठानले मधेश प्रदेशको स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा एक दुरगामी सोचका साथ वि.सं. २०७७ मा स्थापना भएको थियो ।
प्रतिष्ठान स्थापनाको पाँच वर्षे उपलब्धी
स्थापना भएको पाँच वर्षमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले निकै फड्को मारेको छ । मधेश प्रदेशमै पहिलो पटक सरकारी स्तरबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने संस्थाको रुपमा रहेको छ ।
यसको अतिरिक्त स्नातक तहमा बी.एस्सी. नर्सिङ, बी.एन.एस, जनस्वास्थ्य तथा प्रयोगशाला चिकित्सालगायतका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेको प्रतिष्ठानले जनाएको छ । त्यस्तै स्नातकोत्तर तहमा बालरोग, प्रसुति तथा स्त्रीरोग, इन्टरनल मेडिसिन तथा जनरल सर्जरी विषयमा विशेषज्ञस्तरको शिक्षा प्रदान गरिदैं आएको जनाइएको छ ।
हालै थप १४ वटा स्नातकोत्तर सिट प्राप्त हुनु प्रतिष्ठानको शैक्षिक क्षमता विस्तार र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता पूरा गर्नतर्फ समेत अग्रसर रहेको छ । उक्त प्रतिष्ठानले अनुसन्धानको क्षेत्रमा समेत प्रतिष्ठानले उल्लेखनीय प्रगति गर्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट संस्थागत समीक्षा समितिको स्वीकृति प्राप्त गरेको छ ।
यस माध्यमबाट यहाँ सञ्चालन हुने अनुसन्धानहरूको गुणस्तर, विश्वसनीयता र राष्ट्रिय मान्यतालाई सुदृढ बनाएको छ । चिकित्सा शिक्षासंगै स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी, आधुनिक र सर्वसुलभ बनाउने दिशामा प्रतिष्ठानले महत्वपूर्ण कदमहरू चालेको रजिष्ट्रार प्रा.डा. विजय कुमार यादवले जानकारी दिए ।
बिरामीहरूको आवश्यकतालाई मध्यनजर गर्दै अस्पतालमा क्याथ ल्याब र एमआरआई जस्ता अत्याधुनिक सेवाहरू समेत सञ्चालनमा ल्याइएको छ । त्यस्तै अस्पतालको सेवा क्षमता विस्तार गर्ने क्रममा हाडजोर्नी विभागमा ४० शैय्याको छुट्टै वार्ड, न्यूरो सर्जरी सेवा, तथा विशिष्ट बर्न वार्ड सञ्चालनमा ल्याइएको छ ।
आधुनिक प्रयोगशाला सेवा, सूचना प्रविधिको प्रयोग, तथा अस्पताल परिसरको सरसफाइ र सौन्दर्यकरणमा गरिएको सुधारले बिरामीहरूलाई स्वच्छ, सुरक्षित र अनुकूल वातावरणमा उपचार सेवा प्राप्त हुने अवस्था सिर्जना गरेको छ । प्रतिष्ठान अन्तर्गत सञ्चालित प्रादेशिक अस्पतालमा सेवा लिने बिरामीहरूको संख्या निरन्तर वृद्धि भइरहेको उनले दाबी गरे ।
हाल अस्पतालबाट ४० भन्दा बढी विशिष्टीकृत विभागहरू मार्फत स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । आकस्मिक सेवा, आइसीयू, एनआइसीयू, पीआइसीयू, २१ शैय्याको डायलासिस सेवा, तथा अत्याधुनिक दन्त सिबीसीटी सेवालगायतका सुविधाहरूले अस्पतालको सेवा स्तरलाई थप सुदृढ बनाएको छ ।
हाल अस्पतालमा कुल ३८५ शैय्या सञ्चालनमा रहेको छ । जसमा विभिन्न विभाग अनुसार आवश्यक व्यवस्थापन गरिएको छ । सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै प्रतिष्ठानले स्वास्थ्य बीमा कार्यक्रम, निःशुल्क औषधि वितरण, टेलिमेडिसिन सेवा, सुरक्षित गर्भपतन सेवा तथा सामाजिक सेवा एकाइ मार्फत विपन्न तथा आवश्यकतामा रहेका नागरिकहरूलाई सहुलियत प्रदान गर्दै आएको छ ।


