काठमाडौं, ०७ फाल्गुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को क्षेत्रमा प्रचार गर्न आएको भन्दै उम्मेदवारसहित कार्यकर्तामाथि कुटपिट गर्नेमध्येका एक जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।
बर्दघाट नगरपालिका–१२ जमुनिया बजारमा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)ले गरेको प्रचारप्रसार कार्यक्रममा रास्वपाका कार्यकर्ता बताउँदै पुगेका एक समूहले उम्मेदवासहितका कार्यकर्तालाई कुटपिट गरेका थिए । कुटपिट गर्ने तीन जनामध्ये एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका– १३ का ३१ वर्षीया अजय गौतम् छन् । अन्यको खोजी कार्य भइरहेको बताइएको छ । कुटपिटबाट नेपाल कम्युनिष्ट पार्टी(माओवादी) का उम्मेदवार राजुप्रसाद हरिजन, क्षेत्रीय प्रचारप्रसार सहसंयोजक निरज पाठक, जिल्ला सदस्य नकुल सी र बर्दघाट नगर इन्चार्ज गणेश पाण्डे घाइते भएका छन् ।
घण्टीको एरियामा आएर प्रचारप्रसार गरेको भन्दै कुटपिट गरेको उम्मेदवार हरिजनले बताए । पक्राउ परेका गौतमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) अनुपम श्रेष्ठले दल र उम्मेदवारहरुलाई निर्धक्कका साथ चुनावी कार्यक्रम गर्न आग्रह गर्रेका छन् । रास्वपा नवलपरासी १ उम्मेदार विक्रम खनालले यस्ता घटना हुनु दुखद रहेको र आफ्ना कार्यकर्ता भएनभएको छानविन हुने जनाएका छन् ।


