रौतहट, ०७ फाल्गुन। सीमावर्ती जिल्ला रौतहटमा अपराध, तस्करी र सवारी दुर्घटनाका घटनाले चुनौती थपिरहेकै बेला जिल्ला प्रहरी कार्यालय रौतहटले माघ महिनामा सम्पन्न गरेका मुख्य कार्यहरूको विस्तृत प्रगति विवरण सार्वजनिक गरेको छ।
प्रेस विज्ञप्तिमार्फत सार्वजनिक प्रतिवेदनमा अपराध नियन्त्रण, अवैध राजस्व छली रोकथाम, फरार प्रतिवादी पक्राउ तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरिएको छ। प्रहरीका अनुसार माघ महिनाभर जिल्लामा ७७ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन्। तीमध्ये ज्यानसम्बन्धी ७, आत्महत्यासम्बन्धी ८, चोरीका २ र सामाजिक अपराधका २३ मुद्दा रहेका छन्।
यसैगरी बैंकिङ कसुरका १७ मुद्दा दर्ता भएको विवरण सार्वजनिक गर्दै प्रहरीले आर्थिक अपराध बढ्दो चुनौतीको रूपमा देखिएको विश्लेषण गरेको छ। पछिल्लो समय डिजिटल कारोबार र बैंकिङ पहुँच विस्तारसँगै ठगी, चेक बाउन्स र अनलाइन माध्यमबाट हुने आर्थिक अपराध बढ्दो क्रममा देखिएको प्रहरीको ठहर छ। साधारण उजुरीको चाप, फर्छ्यौटमा सक्रियता माघ महिनामा जिल्लाभर २८४ साधारण उजुरी परेकोमा १७३ उजुरी फर्छ्यौट गरिएको छ भने १११ उजुरी कारबाही प्रक्रियामै रहेका छन्।
उजुरी व्यवस्थापन र छिटो छरितो अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।कार्यालयका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालद्वारा जारी विज्ञप्तिमा विभिन्न मुद्दामा संलग्न ४१ जना फरार प्रतिवादी पक्राउ गरिएको उल्लेख छ। लामो समयदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न विशेष अपरेशन सञ्चालन गरिएको र त्यसले उल्लेखनीय सफलता पाएको प्रहरीको दाबी छ। लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रहरीले एक जनालाई पक्राउ गरी उनको साथबाट डाइजेपाम ५०० पिस, फेनारगन ५०० पिस र नुरफिन ५०० पिस बरामद गरेको जनाएको छ।
सीमावर्ती जिल्ला भएकाले भारत–नेपाल खुला सीमाको दुरुपयोग गर्दै लागूऔषध ओसारपसार हुने गरेको आशंकामा प्रहरी थप सतर्क बनेको छ।प्रहरी स्रोतका अनुसार पछिल्लो समय युवापुस्तामाझ नशालु औषधिको दुरुपयोग बढ्दो चिन्ताको विषय बनेको छ। विद्यालय तथा कलेज लक्षित सचेतनामूलक कार्यक्रममार्फत लागूऔषध दुव्र्यसन रोकथाममा विशेष जोड दिइएको छ।
अवैध तस्करी नियन्त्रणमा कडाइ सीमावर्ती जिल्ला भएकाले अवैध भन्सार छली तथा तस्करी नियन्त्रणमा विशेष सक्रियता अपनाइएको प्रहरीको भनाइ छ। माघ महिनामा मात्रै ६२ लाख ८९ हजार ९३० रुपैयाँ बराबरका अवैध सामान तथा पाँच सवारीसाधन बरामद गरिएको छ।यसैगरी राजस्व छलीतर्फ ६४ हजार ६५० रुपैयाँ बराबरका सामान बरामद भएको विवरणमा उल्लेख छ।
बरामद गरिएका सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायलाई बुझाइएको प्रहरीले जनाएको छ।प्राकृतिक स्रोत दोहनमा संलग्न दुई सवारीसाधन नियन्त्रणमा लिई ६ हजार रुपैयाँ जरिवाना गरिएको छ। नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि संयुक्त गस्ती बढाइएको छ। ९२ सवारी दुर्घटना माघ महिनामा रौतहटमा ९२ सवारी दुर्घटना भएको तथ्यांक सार्वजनिक भएको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन्।
दुर्घटनाको मुख्य कारण चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन तथा ट्राफिक नियम उल्लंघन रहेको प्रहरीको विश्लेषण छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने ७४५ सवारीसाधनलाई कारबाही गर्दै ७ लाख ८२ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ। सवारी चालकलाई नियम पालना गराउन नियमित चेकजाँच, सचेतना अभियान र संयुक्त ट्राफिक गस्तीलाई तीव्र पारिएको छ।
अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सशक्त बनाइएको छ। माघ महिनामा लागूऔषध, आत्महत्या न्यूनीकरण तथा महिला हिंसाविरुद्ध ५६ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।१२३ प्रहरी परिचालनमार्फत १ हजार २०८ जना प्रत्यक्ष लाभान्वित भएका छन्। समाजमा बढ्दो आत्महत्या र घरेलु हिंसाका घटनालाई नियन्त्रण गर्न स्थानीय तह, विद्यालय, महिला समूह र युवा क्लबसँग सहकार्य बढाइएको प्रहरीको भनाइ छ। विभिन्न विद्यालयमा आत्महत्या, साइबर अपराध र लैङ्गिक हिंसाविरुद्ध १५ कार्यक्रम सञ्चालन गरी ६५७ विद्यार्थीलाई प्रशिक्षण दिइएको छ।
डिजिटल युगमा साइबर अपराध बढ्दो चुनौती बन्दै गएको भन्दै विद्यार्थीलाई सचेत बनाउने उद्देश्यले विशेष कक्षा सञ्चालन गरिएको जनाइएको छ।साइबर ठगी, सामाजिक सञ्जाल दुरुपयोग, अनलाइन ब्ल्याकमेलिङ जस्ता विषयमा जानकारी दिँदै सुरक्षित इन्टरनेट प्रयोगबारे प्रशिक्षण प्रदान गरिएको प्रहरीले जनाएको छ।
माघ महिनाको तथ्यांकले रौतहटमा आर्थिक अपराध, सामाजिक हिंसा तथा सवारी दुर्घटना प्रमुख चुनौतीका रूपमा देखिएका छन्। बैंकिङ कसुरका १७ मुद्दा दर्ता हुनु आर्थिक गतिविधि विस्तारसँगै जोखिम पनि बढेको संकेत भएको प्रहरीको विश्लेषण छ।सामाजिक अपराधका २३ मुद्दा दर्ता हुनु समाजमा चेतनाको आवश्यकता अझै रहेको देखाउँछ।
आत्महत्या सम्बन्धी ८ मुद्दा दर्ता हुनु मानसिक स्वास्थ्य र सामाजिक समर्थन प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता दर्शाउने तथ्यांकका रूपमा हेरिएको छ। जिल्ला प्रहरी कार्यालयले अपराध नियन्त्रण र सामाजिक शान्ति कायम राख्न नागरिक सहयोग अपरिहार्य रहेको जनाएको छ।
सीमावर्ती जिल्लामा तस्करी, लागूऔषध र आर्थिक अपराध नियन्त्रणका लागि सुरक्षा निकायबीच समन्वय थप सुदृढ बनाइएको छ।प्रहरीले सर्वसाधारणलाई शंकास्पद गतिविधि देखिएमा तुरुन्त सूचना दिन आग्रह गर्दै सामुदायिक सहभागितामार्फत सुरक्षित रौतहट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
माघ महिनाको सार्वजनिक प्रगति विवरणले प्रहरीको सक्रियता देखाए पनि बढ्दो आर्थिक अपराध, सवारी दुर्घटना र सामाजिक हिंसा नियन्त्रणमा दीर्घकालीन रणनीति आवश्यक रहेको संकेत गरेको छ। अपराध नियन्त्रण र सचेतनामूलक अभियानलाई सँगसँगै अघि बढाउँदै मात्र जिल्लामा दिगो शान्ति र सुरक्षा कायम गर्न सकिने देखिएको छ।


