
रौतहट, ०८ फाल्गुन। रौतहटको गौर नगरपालिकास्थित पावर हाउस नजिक आज एक यात्रुवाहक बस दुर्घटनामा परेको छ । गौरबाट चपुरतर्फ जाँदै गरेको ना ८ ख ८७६३ नम्बरको बस अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट बसको अगाडिको भागमा क्षति पुगेको छ भने ठक्करका कारण बिजुलीको पोल ढलेको छ । बसमा सवार सबै यात्रुहरू सुरक्षित रहेको प्रहरीले जनाएको छ । केही यात्रुलाई सामान्य चोटपटक लागेको भए पनि गम्भीर मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटना लगत्तै स्थानीय बासिन्दा र प्रहरी टोली उद्धार तथा व्यवस्थापनमा खटिएका थिए। बिजुलीको तार बसमाथि खसेकाले थप जोखिम हुन नदिन तत्काल विद्युत् आपूर्ति बन्द गराइएको थियो ।
प्रारम्भिक अनुमानअनुसार तीव्र गतिका कारण बस अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

