
रौशन कुमार चौधरी
भदौं २६, रौतहट
हरितालिका तीज पर्वको अवसरमा कटहरिया नगरपालिकामा नेपाली हिन्दु महिलाहरूले दर खाएर तीज पर्वको तयारी सुरु गरेका छन् । कटहरिया नगरपालिकाको आयोजनामा भएको दर खाने कार्यक्रममा नगरपालिकाका महिला जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कटहरिया नगरपालिकाकी नगर उपप्रमुख रिता देवी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख अजय प्रकाश जैसवाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा जनता माध्यमिक विद्यालय कटहरियाका प्रधानाध्यापक कपिलदेव प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत रामबिनय सिंह, नगर कार्यपालिका सदस्य मनोज कुमार जैसवाल लगायतका व्यक्तिहरूको सहभागिता तथा मन्तव्य रहेको थियो।

दर खाने दिनसँगै चार दिने तीज पर्वको औपचारिक सुरुवात भएको मानिन्छ। विशेषगरी नेपाली हिन्दु महिलाहरूले मनाउने हरितालिका तीज धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण पर्वका रूपमा रहँदै आएको छ। तीजको पहिलो दिन महिलाहरूले माइती तथा आफन्तको घरमा भेला भएर दर खाने, गीत गाउने, नाचगान गर्ने तथा आपसमा दुःख–सुख साटासाट गर्ने परम्परा रहँदै आएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अजय प्रकाश जैसवालले तीज पर्वका अवसरमा सम्पूर्ण हिन्दु नारीहरूमा शुभकामना व्यक्त गर्नुभयो। उहाँले तीजलाई धार्मिक आस्था, पारिवारिक आत्मीयता र सामाजिक सद्भावको पर्वका रूपमा मनाउन आग्रह गर्नुभयो। नगर प्रमुख जैसवालका अनुसार धार्मिक मान्यता अनुसार देवी पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका आधारमा तीज पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ। यही धार्मिक विश्वासका कारण विवाहित महिलाहरूले पतिको सुख, स्वास्थ्य, समृद्धि तथा दीर्घायुको कामना गर्दै व्रत बस्ने र अविवाहित महिलाहरूले सुयोग्य वर प्राप्तिको कामना गर्दै भगवान् शिवको पूजा आराधना गर्ने चलन रहेको उहाँले बताउनु भयो। कार्यक्रममा नगर प्रमुख जैसवालले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दलित समुदायकी बबिता पासवानले अस्पतालको मुख्य गेटबाहिर सडकमा नै शिशुलाई जन्म दिनुपरेको घटनाप्रति गम्भीर आपत्ति जनाउनुभयो।

गरिब तथा विपन्न नागरिकलाई
राज्यले निःशुल्क उपचार उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आए पनि व्यवहारमा त्यस्तो सेवा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उहाँको आरोप थियो। अस्पतालजस्तो संवेदनशील स्थानमा गर्भवती महिलाले सडकमा नै बच्चा जन्माउनुपर्ने अवस्था आउनु दुःखद र गम्भीर विषय भएको उहाँले बताउनु भयो। नगर प्रमुख जैसवालले उक्त घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्नुपर्ने माग गर्दै महिलाहरूको स्वास्थ्य तथा सुरक्षित मातृत्वको अधिकार सुनिश्चित गर्न सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले महिलाहरूलाई यस्ता विषयमा एकजुट भएर आवाज उठाउनसमेत आग्रह गर्नुभयो।

तीज महिलाको भेटघाट र दुःख–सुख साट्ने पर्व : उपप्रमुख यादव
कार्यक्रमकी अध्यक्ष तथा नगर उपप्रमुख रिता देवी यादवले तीज तथा दर खाने दिनको अवसरमा सम्पूर्ण तीज व्रतालु महिलाहरूमा शुभकामना व्यक्त गर्नुभयो। उहाँले तीज केवल धार्मिक पर्व मात्र नभई महिलाहरूको आपसी भेटघाट, आत्मीयता, मेलमिलाप तथा दुःख–सुख साटासाट गर्ने महत्वपूर्ण अवसरसमेत भएको बताउनुभयो। उपप्रमुख यादवले तीजका माध्यमबाट महिलाहरूले वर्षभरि आफूले भोगेका दुःख, पीडा, समस्या र सामाजिक विभेदका विषयलाई गीत तथा नृत्यमार्फत अभिव्यक्त गर्ने गरेको उल्लेख गर्नुभयो। जन्मघर छाडेर कर्मघरमा पुगेपछि महिलाले भोग्नु परेका विभिन्न समस्या तथा पीडालाई समेत तीजका गीतमार्फत सार्वजनिक गर्ने परम्परा रहेको उहाँको भनाइ थियो।
धार्मिक रूपमा तीजमा विवाहित महिलाहरूले पतिको दीर्घायु, सुख, स्वास्थ्य तथा समृद्धिको कामना गर्दै भगवान् शिवको पूजा तथा व्रत बस्ने र अविवाहित महिलाहरूले सुयोग्य वर प्राप्तिको कामना गर्ने परम्परा रहेको उहाँले बताउनु भयो। उहाँका अनुसार तीजमा माइती पक्षले आफ्ना छोरी, चेली, दिदीबहिनी तथा आफन्तलाई बोलाएर दर खुवाउने परम्परा छ। दरमा दूधबाट बनेका विभिन्न परिकार, रोटी, घिउलगायत शरीरलाई शक्ति दिने खानेकुरा खाने गरिन्छ। तीजको मुख्य व्रतका दिन कतिपय महिलाहरू निराहार बस्ने भएकाले त्यसअघि दरका रूपमा पौष्टिक तथा आडिलो परिकार खाने धार्मिक तथा सांस्कृतिक चलन रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगर कार्यपालिका सदस्य मनोज कुमार जैसवालले पछिल्ला वर्षहरूमा तीज पर्वका नाममा बढ्दै गएको उच्छृङ्खलता, तडकभडक र प्रदर्शनमुखी प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले तीजको मौलिकता र सांस्कृतिक पक्षलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै एक महिनाअघिदेखि नै दर खाने, महँगा गरगहना तथा पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले आर्थिक रूपमा कमजोर परिवारमा नकारात्मक प्रभाव पार्न सक्ने बताउनुभयो। तीज सबैको साझा सांस्कृतिक पर्व भएकाले हुनेखाने र विपन्नबीच विभेद सिर्जना गर्ने खालका गतिविधि नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ थियो। पर्वलाई आफ्नो आर्थिक क्षमता अनुसार सरल, सभ्य र मौलिक रूपमा मनाउनु पर्नेमा जैसवालले जोड दिनुभयो।

पछिल्लो समय सरकारी तथा गैरसरकारी कार्यालयहरूमा समेत तीजका कार्यक्रम लामो समयअघिदेखि नै आयोजना गर्ने प्रवृत्ति बढेको भन्दै उहाँले पर्वको मौलिकता जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। परम्परा अनुसार तीज पर्व चार दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिका साथ मनाइन्छ ।
दर खाने दिनपछि तृतीया अर्थात् हरितालिकाका दिन महिलाहरूले व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा आराधना गर्ने गर्छन्।
त्यसै गरी चौथीका दिन गणेश भगवान्को पूजा गर्ने र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्वको समापन हुने धार्मिक परम्परा रहेको कार्यक्रममा वक्ताहरूले बताएका थिए । तीज पर्वले धार्मिक आस्था मात्र नभई नेपाली समाजमा महिला–महिलाबीचको आत्मीयता, पारिवारिक सम्बन्ध, सामाजिक एकता तथा सांस्कृतिक पहिचानलाई समेत बलियो बनाउँदै आएको वक्ताहरूको भनाइ थियो। कार्यक्रममा जनता माध्यमिक विद्यालय कटहरियाका प्रधानाध्यापक कपिलदेव प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत रामबिनय सिंहलगायतका वक्ताहरूले पनि तीज पर्वको धार्मिक तथा सांस्कृतिक महत्वबारे मन्तव्य राख्दै सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा सहभागी महिलाहरूले दर खाँदै आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै तीजका गीतमा नाचगान गरेर पर्वको खुसी साटासाट गरेका थिए। कटहरियामा आयोजित उक्त कार्यक्रमले स्थानीय महिलाहरूबीच आपसी सद्भाव, आत्मीयता र सांस्कृतिक एकताको सन्देशसमेत दिएको आयोजकको भनाइ थियो भने कार्यक्रमलाई राजेश यादबले संचालन गरेका थिए ।

हरितालिकाको पौराणिकता
तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।
साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीहरुले बताउनुहुन्छ ।हरितालिका (तीज) पर्वका अवसरमा रौतहट लगायत देशभरका शिवालयमा हजारौं महिलाको भीड लाग्ने गर्छ । तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि तीजसम्बन्धी गीत प्रसारणलाई प्राथमिकता दिने गरेका छन् । तीजसँगै समग्र माहौल नै पर्वमय बन्न पुगेको छ ।

उहाँ Wartman Kal Dainik डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |
