विश्वकर्मा पूजाको तयारी तीव्र, वीरगञ्जका मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याइ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३१, बुधबार (१ घण्टा अघि)
  • ५२ पटक पढिएको
विश्वकर्मा पूजाको तयारी तीव्र, वीरगञ्जका मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याइ

वीरगञ्ज, ३१ भदौ। असोज १ गते मनाइने विश्वकर्मा पूजा नजिकिँदै गर्दा वीरगञ्जका मूर्तिकारहरू विश्वकर्मा बाबाको मूर्ति बनाउन तथा बजारसम्म पुर्‍याउन व्यस्त भएका छन् । पूजा नजिकिएसँगै पछिल्लो एक सातादेखि मूर्तिको मागसमेत ह्वात्तै बढेको मूर्तिकारहरूले बताएका छन् ।

उद्योग, कलकारखाना, वर्कशप, निर्माण तथा प्राविधिक क्षेत्रमा प्रयोग हुने औजार र मेसिनका देवताका रूपमा विश्वकर्माको पूजा गर्ने परम्परा रहेकाले यस अवसरमा मूर्तिको माग हुने गरेको छ ।

वीरगञ्जका विभिन्न स्थानमा जग्गा भाडामा लिएर मूर्ति बनाउँदै आएका सर्लाहीका मूर्तिकार बिकाउ पण्डितलाई अहिले मूर्ति बनाउन र बिक्री गर्न भ्याइनभ्याइ छ । उनका अनुसार पूजाभन्दा १०–१५ दिनअघिदेखि नै माग आउन थाल्छ र मागअनुसार मूर्ति तयार पारिन्छ ।

पण्डितका अनुसार माटो र सिमेन्टबाट बनाइने मूर्तिको आकारअनुसार बजार मूल्य ४ हजारदेखि १७ हजार रुपैयाँसम्म पर्ने गरेको छ । सानो मूर्ति बनाउन करिब ३ हजार रुपैयाँ खर्च हुने र ठूलो मूर्ति तयार पार्न १० देखि १५ हजार रुपैयाँसम्म लागत लाग्ने उनले बताए ।

विश्वकर्मा पूजाका लागि यस वर्ष मूर्ति निर्माणमा करिब ५ लाख रुपैयाँ खर्च हुने र आवश्यक सामग्री भारतबाट ल्याउने गरिएको पण्डितले जानकारी दिए ।

विश्वकर्मा पूजा धार्मिक आस्थासँगै श्रम, सीप, प्रविधि र उत्पादनसँग जोडिएको पर्वका रूपमा मनाइन्छ । यस दिन उद्योग, वर्कशप तथा यातायातका साधनमा प्रयोग हुने औजार र मेसिनको पूजा गर्ने चलन छ । पूजा सम्पन्न भएपछि भोलिपल्ट मूर्ति नदी, ताल वा तलैयामा सेलाउने परम्परा रहेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस