वीरगञ्ज, ३१ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा) एक पटक पुन: विभाजन हुने अवस्थामा पुगेको छ । स्थानीय निर्वाचन अगाडि पार्टीको विवादलाई तत्कालका लागि सामसुम पारिए पनि निर्वाचन सकिन बितिकै पार्टीको विवाद एक पटक पुन: सतहमा आएको छ ।
पार्टीमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेको, स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा पार्टीभित्र छलफल नगरेको लगायतका विषयले विवादमा जसपा सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने विषयलाई लिएर विभाजनको संघारमा पुगेको हो।
संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै आफूहरुले उपेन्द्र यादवलाई कारवाही गर्न लागेको भन्दै उनको मात्रै सल्लाहका नमान्न आग्रह नै गरेका छन्।
भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएर भूमिका विहीन बनाएदेखि नै जसपाभित्र विवाद बढ्दै गएके छ । केही समय अगाडि पार्टीको बैठकमा बाबुराम भट्टराईलाई उपेक्षा गरिएको भन्दै उनी पक्षधर नेताहरुले कार्यकारी अध्यक्ष उपेन्द्र यादवविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
पछिल्लो समय सरकारमा रहेका मन्त्रीहरु हेरफेर गर्न बाबुराम भट्टराई पक्षधर नेता कार्यकर्ताले उपेन्द्र यादवलाई दबाब दिएसँगै आन्तरिक विवाद थप उत्कर्षमा पुगेको छ ।
जसपाका बाबुराम भट्टराई पक्षधर एक नेताका अनुसार सरकारमा नयाँ मन्त्री पठाउनुपर्ने बाबुराम पक्षले माग गरिरहेका छन् भने अर्का अध्यक्ष यादव पक्षले वर्तमान मन्त्रीहरुलाई नै निरन्तरता दिनुपर्ने अडानमा छन् ।
हाल सरकारमा एकलौटी रुपमा उपेन्द्र यादवले मन्त्री पठाएको र बाबुराम पक्षलाई उपेक्षा गरेको उक्त समूहको आरोप छ । भट्टराई पक्षका केही सांसद्हरुले उनिमार्फत उपेन्द्र यादवलाई मन्त्री हेरफेर गर्न तीब्र दबाब दिएको स्रोतले जनाएको छ ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पुगी बाबुराम भट्टराईले पार्टी बिभाजनको नजिक पुगेको जानकारी गराउँदै दल बिभाजन सम्बन्धी विधेयक ल्याएर सघाउन आग्रह गरेको स्रोतको दाबी छ।
पार्टी बिभाजनको सम्भावना बढेसँगै उपेन्द्र यादवले जसपाबाटै बिभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) सँग पार्टी एकताको प्रस्ताब राखेको बाबुराम पक्षको आरोप छ । लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोलेसमेत पार्टी बिभाजन हुन लागेपछि उपेन्द्र यादवले लोसपासँग एकताको प्रस्ताव अगाडि सारेको भन्दै कटाक्ष गरेका थिए ।
जसपाले सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुलाई फिर्ता बोलाई नयाँ मन्त्रीलाई सरकारमा पठाउने भट्टराई पक्षले तयारी गरेको थियो । त्यसको प्रतिवाद गर्दै यादवले सरकारमा रहेका हालका मन्त्रीहरुलाई नै निरन्तरता दिनुपर्ने अडानबाट पछाडि नहटेपछि विवाद बढ्दै जाँदा पार्टी बिभाजनको नजिक पुगेको जसपाका बाबुराम पक्षीय एक नेताले बताए ।
जसपामा हाल ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा भट्टराईको पक्षमा ३३ जना केन्द्रीय सदस्य खुलेको र २१ जना सांसद मध्ये १२ जना रहेका छन् । यी सांसदको संख्या अन्तिम समयमा बढ्न सक्ने ती नेताको दाबी छ । ती नेताका अनुसार जसपाको आन्तरिक विवाद बढेसँगै बाबुराम भट्टराई संसद र केन्द्रीय कमिटीमा बहुमत पुर्याएर उपेन्द्र यादवलाई कारबाही गर्ने सम्मको तयारीमा रहेका छन् ।
उनका अनुसार पार्टी बिभाजन नगरि जसपालाई नै निरन्तरता दिने तर कार्यकारी अध्यक्षको जिम्मेवारी भट्टराईले लिने गरि तयारी थालिएको छ । ‘केन्द्रीय कार्यकारिणी समितिका ५१ सदस्यमध्ये ३३ जना बाबुरामजीसँगै हुनुहुन्छ भने संसदीय दलमा २१ जना सांसदमध्ये १२ जनाले साथ दिएका छन्,’ ती नेताले भने, ‘सांसदको संख्या अन्तिम समयमा बढ्न सक्छ।’
नयाँ पार्टी गठन गरेर जानु भन्दा जसपालाई नै निरन्तरता दिँदा कार्यकर्ता समेटिने ती नेताको तर्क छ । बाबुराम पक्षसँग कार्यकारिणी समिति र सांसदमा स्पष्ट बहुमत रहेको बताउँदै संख्या अझै बढ्न सक्ने उनको दाबी छ ।