एसपीपीको पत्र म प्रधानमन्त्री नहुँदै पठाइएको हो, अमेरिकी दूताबासले सत्य बोलोस् : ओली

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ अषाढ १४, मंगलबार (३ साल अघि)
  • ५ पटक पढिएको
एसपीपीको पत्र म प्रधानमन्त्री नहुँदै पठाइएको हो, अमेरिकी दूताबासले सत्य बोलोस् : ओली

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुने तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा मिति संशोधन गरिएको दाबी गरेका छन् । उनले ‘ओरिजिनल’ पत्र सार्वजनिक गर्न सरकारलाई आग्रह मात्र गरेका छैनन्, अमेरिकी दूतावासलाई पनि बोल्न आग्रह गरेका छन् ।

एसपीपीबारे एमालेले सरकारमाथि प्रश्न गरिरहेका बेला २ असारमा ओली सरकारकै पालामा यो कार्यक्रममा सहभागी हुन नेपाली सेनाले सरकारको तर्फबाट काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्र लेखेको खुलेको थियो ।

एमाले अध्यक्ष ओली २५ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए र १० कात्तिकमा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेर नेपाल सरकारको निर्णयअनुसार एसपीपीमा सहभागी गराउन माग गरेका थिए ।

मंगलबार मदन भण्डारी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले सार्वजनिक भएको उक्त पत्रमाथि प्रश्न उठाएका छन् । आफूअघि रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिस्तरीय निर्णयअनुसार सेनालाई पत्राचारका लागि अनुमति दिएको तर, आफूलाई बद्नाम गर्ने उद्देश्यका साथ पत्र सार्वजनिक गरिएको उनले बताए । ओलीले भने, ‘अहिले कात्तिक १० गतेको ठेगाना दिइएको छ । तर म सरकारलाई ओरिजिनल पत्र देखाउ भन्न चाहन्छु ।’

म प्रधानमन्त्री हुनु भन्दा अगाडिको हुनसक्छ । चलानी नम्बरमा ८५ पनि हातले लेखेको छ, पहिलेको हटाएर, पठाएको मितिमा पनि २७ अक्टोबर लेखेको छ हातले । सबै टाइप छ, पछाडि किन हातले लेख्नुपर्‍यो भने टिपेक्स लगाएर मेटेर हातले लेखिएको स्पष्ट छ । हातले नलेखेको पत्र निकाल्न म सरकारलाई भन्न चाहन्छु, हातले नलेखेकामा कहिलेको मितिमा थियो, त्यो ल्याऊ ।’

आफूलाई मुछ्न मात्र मिति केरमेट गरेर पत्र सार्वजनिक गरिएको ओलीको दाबी छ । उनले भने, ‘२७ अक्टोबर भनेर जुन मिति लेखिएको छ, त्यो २७ चाहिँ हातले लेखिएको छ । अरु सबै टाइप, २७ अक्टोबर चाहिँ हातले । केपी ओलीलाई मुछ्न आज लेखिएको हो त्यो २७ तारेख ।’ चलानी नम्बर पनि हातले लेखिएको भन्दै उनले यो सरकारले गरेको छली काम भएको आरोप लगाए ।

पत्रमा मिति र चलानी नम्बर हातले लेखेकामा पटकपटक प्रश्न उठाएका उनले अघि भने, ‘यो पत्र म प्रधानमन्त्री नहुँदै अमेरिकन एम्बेसीमा पठाइएको हो, अमेरिकन एम्बेसीले सत्य बोलोस् भन्न चाहन्छु ।’

पत्रको वैधानिकतामाथि प्रश्न उठाएका उनले आफ्नै पालामा पत्र लेखेको भएपनि आफ्नो जानकारी विना सेनाले पठाएको बताए । यसबारे तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई सोध्न सकिने भन्दै उनले भने, ‘बताएको भए त्यतिबेलाको सरकारले रोक्थ्यो ।’

तत्कालीन रक्षा सचिव (हाल निर्वाचन आयुक्त) ईश्वर पौडेलले आफूलाई भनेको थिएँ भनेर दिएको सार्वजनिक अभिव्यक्ति झुटो भएको ओलीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस