रौतहट,१९ चैत्र। रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षामा मेयरको सट्टामा परिक्षा दिरहेका एकजना परीक्षार्थी पक्राउ परेका छन् ।
रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा एसईई दिँदै गरेको आरोपमा एकजना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । प्रहरीका अनुसार देवाही गोनाहीका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा-६ पोठियाहीका कमल साह पक्राउ परेका छन् ।
मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा चलिरहेको एसईई परिक्षामा नियमिततर्फ सिम्बोल नम्बर ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साह मेयरका ज्वाइ रहेको स्रोतको भनाइ छ । ससुराका सट्टामा परीक्षा दिइरहेका उनी इन्जिनियर हुन् ।
परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन् । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।