रौतहट,२६ चैत्र। रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी हुँदा २१ भन्दा बढी घर जलेर नष्ट भएको छ । माधवनारायण नगरपालिकाको वडा नं. ४ विसुनपुर्वा मानपुरमा भएको आगलागी भएको हो । स्थानिय जिउत मुखियाको घरबाट सल्कीएको आगोले बस्तीका २१ घर जलेर नष्ट भएको छ ।
आइतबार दिउँसो २ बजे जिउत मुखियाको घरमा खाजा बनाउन चुलो बालेका बेला घरमा आगो लागेको थियो । तीव्र हावाको बेगका कारण क्षणभरमै उनको घरबाट छिमेकीको घरमा आगो सल्किदै बस्तीमा पुगेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए ।
आगलगीबाट स्थानीय हरेसी मुखिया, महेशी मुखिया, ईन्द्रदेव भगत, दिनकर मुखिया,उपेन्द्र मुखिया, वीरेन्द्र मुखिया बद्री भगत, सुरेन्द्र मुखिया, जितेन्द्र मुखिया, बिकाउ मुखिया, जयकरण मुखिया लगायत २१ जनाको घर जलेर नष्ट भएको स्थानीयले बताए ।
उनका अनुसार आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा चन्द्रपुर र गौर नगरपालिकाको वारुणयन्त्र परिचालन गरिएको छ । तर, वारूणयन्त्रको पानी सकिएपछि आगो नियन्त्रणमा लिन समस्या भएको स्थानीय पारस भण्डारीले बताए ।
आगलागीका कारण मानविय क्षति अहिलेसम्म नभएको तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको र क्षतिको विस्तृत विवरण अझै आइसकेको छैन सिडिओ मिश्रले बताए ।