रौतहट,२६ चैत्र। यौन जन्य गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले एक होटलकी सञ्चालिकासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
रौतहट सदरमुकाम गौरको बसपार्कस्थित रोयाल इन्दु होटेलकी सञ्चालिकासहित पाँच जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो । यौनजन्य गतिविधि भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले आइतवार रोयाल इन्दु होटलमा छापा मारेको हो ।
छापामारीका क्रममा होटलकी सञ्चालिकासहित २ जना पुरुष र २ जना महिलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । स्रोतकाअनुसार पक्राउ पर्नेमा सशस्त्र प्रहरीका सहायक हवलदार पनि रहेको बुझिएको छ ।
यसअघि शुक्रवार मात्रै गौर नगरपालिका वडा नम्बर १ स्थित गुदरी बजार जाने गल्लीको बाटोमा साहिवा ब्यूटी पार्लरको आडमा अबैध यौनजन्य गतिविधि भइरहेको भन्दै प्रहरीले छापा मारेको थियो । छापामारीका क्रममा संलग्न एक महिला एक पुरुष र व्यूटीपार्लरकी संचालिकालाई पक्राउ गरेर मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।