रौतहट,२८ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताएका छन् ।
मङ्गलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बैंक ब्याजदर कम गर्ने र राजश्व संकलनलाई बढाउने बारेमा सरकारका सबै अंगसँग आफू छलफलमा रहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने बताए । उनले सरकारले पछिल्लो अर्थतन्त्र सुधारका लागि सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको पनि जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले सरकारले राजश्व संकलन, रेमिट्यान्स र अन्य अर्थतन्त्रका सूचकहरुलाई कसरी चलायमान बनाउने भन्ने बारेमा जोड दिइरहेको बताए । आफूले सरकार सञ्चालन गरेको तीन महिनामा विदेशी मुद्राको सञ्चिति उत्साहजनक हुँदै गएको बताउनु हुँदै उनले झन्डै ११ महिना पुग्ने विदेशी सञ्चिति अहिले देशसँग रहेको स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले कृषिको उत्पादन पछिल्लो समय घटेको र कृषिजन्य सामग्री नेपालमा धेरै आयात हुँदै जानु दुःखद् भएको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले सरकार आगामी आर्थिक वर्षको बजेट तथा नीति निर्माणमा केही ठूला, नयाँ र गुणात्मक योजना अघि बढाउने तयारीमा रहेको पनि बताए ।