रौतहट,२९ चैत्र। राैतहटकाे गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएकाे छ । बुधबार रौतहटको गरुडामा दिपक यादव र उनका समर्थकहरुले गरुडा नगरपालिकामा ताला लगाउन पुग्दा प्रहरीले रोक्न खोज्दा यादवका समर्थक र प्रहरी बिच झडप भएकाे हाे ।
झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड फायर समेत गरेका हुन । यदावका समर्थहरु ढुंगामुढा गरेर ठूलो क्षति पुर्याउन खोज्दा प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन १२ राउण्ड गोली फायर गरेका छन् ।
गरुडा नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै पछिल्लो विभिन्न समयमा आन्दोलन गर्दै आएका स्थानीय दिपक यादवले बुधवार गाउँलेहरुलाई उचालेर नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न गरुडा आएका थिए । मानिसहरुको भिडलाई देखेपछि नजिकै रहेका इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विरेन्द्र पासवानको कमाण्डमा सुरक्षाकर्मीहरु नगरपालिकालाई सुरक्षा दिएका थिए ।
नगरपालिकाको कार्यालयमा ताला लगाउन खोज्दा दिपक यादवको समुहलाई प्रहरीले रोकन खोज्दा एक्कसी प्रदर्शनकारीहरु ढुंगामुढा गरेर टिपर, मोटरसाइकल, कार्यालयको झ्यालमा क्षतिपुर्याउन सुरु गरेपछि प्रहरीले निकै सम्झाए पनि प्रदर्शन उग्र बन्दा चार राउण्ड टियर ग्यास प्रहार गरेपनि उनीहरु पछि हटेनन । ढुंगामुढाबाट प्रहरी निरीक्षक पासवान घाईते भएको र अवस्था झन् उग्र भएपछि बाध्यताबस प्रहरीले १२ राउण्ड गोली फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको रौतहट प्रहरीका एसपी विरबहादुर बुढा मगरले जानकारी दिए ।
प्रदर्शनकारीको ढुंगामुढाबाट नगरपालिका वरिपरी रहेका सवारी साधनहरुमा धेरै क्षति भएको, प्रहरी निरीक्षक सहित चार जना प्रहरी घाइते भएको उनले भने ।
यसैविच प्रहरीको गोली लागेर गरुडा नगरपालिका वडा नम्वर ५ लक्ष्मिपुर गाउँका २२ बर्षिय युवक गजेन्द्र यादव घाइते भएको बुझिएको छ । घाईते यादवको पाखुराबाट गोली वारपार भएपछि स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि नारायणी अस्पताल विरगंज पठाइएको स्थानीयले बताए ।
घाईते युवकको अवस्था सामान्य रहेको छ तर गोली लागेर नै घाइते भएको सम्बन्धमा प्रहरीले अहिले सम्म पुष्टि गरेको छैनन् । ढुंगा लागेर पनि घाइते भएको हुन सक्ने आशंका गर्दै एसपी मगरले वीरगंज पुगेपछि यथार्थ कुरा आउने उनले भने । मानिसहरुलाई उचालेर प्रदर्शन गराउन ल्याएका युवक दिपक यादव सहित चार जनालाई इलाका प्रहरी कार्यालय गरुडाका प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरीका एसपी मगरले बताए ।
एसपी मगरका अनुसार नगरपालिकाको मेयरले अनियमितता गरेको छ भने बसेर छलफल वा न्यायायिक ढंगबाट अघि बढ्नुपर्नेमा सरकारी सम्पत्तीलाई हानी नोक्सानी पुर्याउने अधिकार कसैलाई पनि राज्यले दिएको छैन । सरकारी सम्पत्तीको सुरक्षार्थ प्रहरीले बल प्रयोग गरेर अवस्थालाई नियन्त्रणमा लिएको बताउदै अहिले गरुडा क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको तथा कुनै पनि बहानामा प्रदर्शनकारीहरुलाई नगरपालिका सम्म पुग्नका लागि पूर्ण बन्देज लगाइएको छ ।