कृष्ण तिवारी
रौतहट, १० जेठ। रौतहटको माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादवले नगरपालिका भवन निर्माणका लागि आफ्ना करोडौंको जग्गा निःशुल्क दान गरेका छन्।
मेयर यादवले नगरपालिका कार्यालय भवन निर्माणका लागि आफ्ना करिब १ करोड मूल्य पर्ने ५ कठ्ठा जग्गा नगरपालिकाको नाममा निःशुल्क दान गरेका छन्। नगरपालिकाको आफ्नै भवन नहुँदा भाडाको घरमा नगरपालिका कार्यालय सञ्चालन हुँदै आएको a आस्थालाई मध्य नजर गरी नगर प्रमुख बैजनाथ प्रसाद यादवले करोडौं मूल्य बराबरको आफ्ना ५ कठ्ठा जग्गा दान गरी एतिहासिक तथा प्रसंसनीय कार्य गरेका छन्।
नगर प्रमुख यादवले माधवनारायण नगरपालिका -६ माधोपुर बजार देखि पिप्रा जाने सडकखण्डसंग जोडिएको स्वास्थ्य चौकी माधोपुरको छेउमै रहेको किता नं १३५५ को सो जग्गा माधवनारायण नगर कार्यपालिकाको कार्यालय माधोपुर को नाममा दान गरेका हुन् । नगर प्रमुख यादवले निःशुल्क जग्गा उपलब्ध गराएपछि माधव नारायण नगरपालिका कार्यालयको प्रशासनिक भवन निर्माण गर्ने बाटो खुलेको छ।
भवन निर्माणका लागि जग्गा नहुँदा नगरपालिकाको भवन निर्माण हुन सकेको थिएन तर मेयर यादवले निःशुल्क जग्गा दान गरेपछि अब माधवनारायण नगरपालिकाको आफ्नै भवन निर्माण हुने भएको छ। यस अघि नगरपालिकाको आफ्नै भवन नहुँदा नगरपालिका कार्यालय स्थापना भएदेखि अहिलेसम्म नगरपालिकाको कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको छ। यसरी भाडाको घरमा नगरपालिका कार्यालय सञ्चालन हुँदा पालिकाको बर्सेनि लाखौं रकम भाडामै खर्च हुँदै आएको छ।
नगरपालिकाको आफ्नै भवन निर्माण भएपछि पालिकाले भाडामा खर्च गर्दै आएको लाखौं रकम बचत हुने छ। नगरपालिका भवन निर्माणको लागि पर्याप्त जग्गा भएको भन्दै अब चाँडै नगरपालिका भवन निर्माणको प्रक्रिया सुरु हुने नगर प्रमुख बैजनाथ यादवले बताए । नगरपालिका भवन निर्माणको लागि आफ्ना करोडौंको जग्गा निःशुल्क दान गरी एतिहासिक काम गरेको भन्दै नगरवासी निकै हर्शित भएका छन्।