गोल्छाले २६ करोड ऋण नतिरेपछि श्रीराम सुगर मिल्स लिलामीमा चढ्यो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० जेष्ठ ३२, बिहिबार (२ साल अघि)
  • ३९ पटक पढिएको
Post Thumbnail

रौतहट । जेठ ३२ गते ।
व्यावसायिक घरना गोल्छा परिवारको स्वामित्वमा रहेको श्रीराम सुगर मिल्स लिमिटेड अब लिलामीमा जाने भएको छ। मिल्सले ऋण नतिरेपछि मुख्य लगानीकर्ता नेपाल बैकले उद्योग लिलामीको प्रक्रिया अघि बढाएको हो।

श्रीराम सुगरमा नेपाल बैकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष, हिमालयन बैक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १७ करोड रुपैयाँ ऋण लगानी गरेका थिए। ब्याजसमेत जोड्दा अहिले २६ करोड रुपैयाँ पुगेको छ।

बैंकहरुले उद्योगमा रहेको मेशिनरी उपकरणहरु बोलकबोलबाट बिक्री गर्ने भएको छ। लिलाम गर्न लागेको मिल मेशिनरीको न्यूनतम् मूल्य ३८ करोड ११ हजार ७ सय ५५ रुपैयाँ तोकेको छ। बोलकबोलदाताले सो भन्दा बढी रकम कबोल गर्नुपर्ने छ।
मेशिनरी तथा उपकरण बेचेर कर्जा असुली हुने देखिएकाले लिलामी प्रक्रिया अघि बढाएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले बताए। उद्योगले बैंकहलाई २६ करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको उनले जानकारी दिए।

गोल्छाको श्रीराम सुगर मिल्स सधैंका लागि बन्द, २१७ करोड सञ्चित नोक्सानमा

बैंकले बोलकबोल पेश गर्ने अन्तिम दिन साउन ४ गतेलाई तोकेको छ। २०४९ साउन १३ गते गोल्छा अर्गनाइजेनसले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ गतेदेखि पूर्ण रुपमा बन्द छ।

लगातार नोक्सानमा गएपछि गोल्छा समूहले श्रीराम सुगर बन्द गराएको हो। उद्योग बन्द हुँदा २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ सञ्चित नोक्सान थियो। उद्योग स्थायी रूपमा बन्द भएको व्यवस्थापनले जानकारी गराएको थियो। सञ्चालनमा प्रयास भइरहंदा पनि नोक्सान बढेपछि बन्द गर्नुपरेको उद्योगले जनाएको थियो।

चालुपूँजी जुटाउन उद्योगले १ बराबर ३ अनुपातमा ८९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। हकप्रद सेयर निष्कासन गर्न नपाएपछि अन्त्यमा गोल्छा समूहले उद्योग बन्दको निर्णय गरेको हो।

श्रीराम सुगर मिल्स बन्द: के होला सर्वसाधारणको सेयर लगानी ?

श्रीरामले सर्वसाधारणलाई सेयर निष्कासन गरेको थियो । श्रीराम नेप्सेमा सूचीकृत उद्योग हो। नेप्सेमा सूचिकृत कम्पनी भए पनि श्रीरामले हालसम्म कुनै पनि त्रैमासिक विवरण सार्वजनिक गरेको थिएन ।

उद्योगको ३० लाख ४५ हजार ९९० कित्ता सेयर नेप्सेमा सूचीकृत छ । कम्पनीको चुक्ता पुँजी ३० करोड ४५ लाख ९९ हजार रुपैयाँ छ। मिल्स बन्द भएपछि सर्वसाधारणको लगानी जोखिममा परेको छ।

मिल्समा सर्वसाधारणको ९ र बाँकी ९१ प्रतिशत संस्थापक लगानीकर्ता गोल्छा परिवारको सेयर रहेको छ। कुल ३० लाख ४५ हजार ९९० कित्ता सेयर छ। जसमध्ये सर्वसाधारणको २ लाख ७४ हजार १३९ कित्ता छ। गोल्छा परिवारको स्वामित्वमा रहेको भृकुटी कागज कारखाना पनि बन्द छ।

उद्योग रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६ महम्मदपुरमा रहेको छ। उद्योगको नाममा ८० विगाह जग्गा छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस