रौतहट,११ असार। बहुमत सदस्यलाई पाखा लगाएर नगरसभा गरेको भन्दै बहिष्कार गरेकी रौतहटको गरुडा नगरपालिकाकी उपप्रमुख पुनम चौधरीले सोमबार नगरपालिकाको कार्यालयमा ताला लगाएकी छन् ।
कार्यालयमा ताला लगाएर उपप्रमुखलगायत ३१ जना जनप्रतिनिधि धर्नामा बसेका छन् । उपप्रमुख चौधरीलगायत ६ वडाका अध्यक्षसहित ३१ जना जनप्रतिनिधि धर्नामा बसेका हुन् । कार्यालयमा तालाबन्दीपछि उनीहरू मुख्य गेटमै धर्नामा बसेका हुन् ।
नगरप्रमुख कन्थमनी जैसवालले एकलौटी ढंगले बजेट चलाउन खोजेको र सहमति नै नगरी जबरजस्ती नगरसभा गरेकोले धर्नामा बसेको उनीहरूको भनाइ छ । नगरसभाको निर्णय पुस्तिका हेर्न नदिएसम्म कार्यालयको ताला नखोल्ने उपप्रमुख चौधरीले बताइन् ।
‘जबरजस्ती गरिएको नगरसभामा भएको निर्णय पुस्तिका हेर्न चाहन्छौँ । अनि चाँडोभन्दा चाँडो कार्यपालिकाको बैठक बोलाइयोस्,’उनले भनिन्,‘जबसम्म आफूहरूको माग पूरा हुँदैन तबसम्म नगरपालिकामा लगाइएको ताला खोल्दैनौँ ।
आइतबार नगरपालिकाको नवौं नगरसभाबाट ५५ करोड १६ लाख ३० हजार बजेट सार्वजनिक गरेको थियो । बजेट र नीति तथा कार्यक्रममाथि छलफल गरी पास गर्नुपर्नेमा तालाबन्दीका कारण हुन सकेन ।