बिमलेश कुमार झा
भदौ १२ गते,रौतहट । रौतहटको एक विद्यालयमा एउटै परिवारका अध्यक्ष देखी लिएर कार्यालय सहयोगी सम्म रहेर निर्धक्कसँग झोले विद्यालय संचालन गर्दै आएको पाइएको छ।
रौतहटको राजदेवि नगरपालिका वडा नम्बर २ हजमिनियामा बिगत १५ बर्ष देखी झोले बिद्यालय संचालन गरि सो विद्यालयलाई कमाउने भाडो बनाएको छ ।
२०६५ सालमा स्थापना भएको श्री जगदीश प्राथमिक विद्यालय हजमिनियाको ब्यवस्थापन समितिको अध्यक्षमा आमा कृष्ण देवि, श्रीमती भव्या झा प्रधानाध्यापक, बुहारी रामपति कुश्वाहा शिक्षिका,भाइ कार्यालय सहयोगी मनोज कुमार कुश्वाहा,आफू विनोद कुश्वाहा शिक्षक भएर संचालन गर्दै आएको झोले विद्यालय भेटिएको हो ।
शिक्षक विनोद कुश्वाहा प्रअ भव्या झाकी श्रीमान हुन् । विगत १५ बर्ष देखि पारिवारिक विद्यालयको रुपमा स्थापना गरेर नेपाल सरकारबाट पाउने सेवा सुविधाहरु उपभोग गर्दै आएका छन् ।
सो विद्यालयमा पुग्दा कक्षा ५ मा दुई जना विद्यार्थी र कक्षा ४ मा ५ जना विद्यार्थी उपस्थित थियो। कक्षा ४ र ५ का विद्यार्थीलाई नेपाली वर्ण र अक्षर चिन्नुका साथै शुद्ध उच्चारणमा समेत समस्या देखिएको छ।
कक्षा एक देखि लिएर पाँच सम्मको अध्यापन गर्न मिल्ने उक्त विद्यालयको बारेमा प्रअ झासँग बुझ्दा व्यक्तिगत रुपमा दुई कठ्ठा जग्गा दिई संचालन गरेको विद्यालयमा हाम्रै परिवारको सदस्यहरुले शिक्षण गर्न योग्य रहेकाले अरुलाई अवसर नपाएको बताएकी छन्। प्रअ झाले दुई वटा जिरो दरबन्दीमा नेपाल सरकारबाट पाउने वार्षिक १० लाख अनुदानमा विद्यालयमा कार्यरत सम्पूर्ण परिवारका सदस्य शिक्षक र दुई जना अन्या सामुदायका शिक्षकहरुलाई तलब दिइरहेकी समेत बताइन्।
विगत डेढ दशकदेखि एउटै परिवारले निजीकरण गरेको विद्यालयको अवस्थामा कुनै सुधार देखिदैन। त्याहा समुचित रुपमा खानेपानी र शौचालयको सुविधा समेत अभाव देखिन्छ।
कुश्वाहाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत हात पारेका २२ लाख ५० हजार करममा सो भवन निर्माण गर्न निर्माण समितिको अध्यक्ष उनको आमा कृष्ण देवि हुन्।
राजनीतिक पहुँचको आधारमा शिक्षक कुश्वाहाले आफनै घरका सवै सदस्यहरुलाई राखेर सरकारी रकमको चरम दुरुपयोग गर्दै आएको पाइएको छ ।
विद्यार्थी संख्या नभएका विद्यालयलाई नजिकै रहेको अन्य विद्यालयमा मर्ज गर्नुपर्ने भएतापनि कुश्वाहाले राजनीतिक संरक्षणमा परिवारका सम्पूर्ण सदस्य मिलि सरकारी रकमको दुरुपयोग गरिएकोमा सम्बन्धित निकायको समेत ध्यानाकर्षण हुन आवश्यक देखिन्छ।