रौतहट,१६ भदौ। रौतहटमा बालिकालाई अपहरण गरेपछि खोजतलास गर्नमा प्रहरीले आलटाल गरेको भन्दै स्थानियहरु टायर बालेर दुई घण्टा चक्का जाम गरेका थिए ।
बच्चा अपहरण गर्नेलाइ पक्राउ गर्न प्रहरीले चासो नलिएको भन्दै स्थानीयले शनिबार करिब दुई घण्टा गौर–चन्द्रपुर सडकलाई स्थानीयहरुले अबरोध गरेका थिए । जिल्लाको माधवनारायण नगरपालिका–५ मिठुअवाका रामनरेश महतो सुढीले सोही ठाउँका एक नाबालिकलाई अपहरण गरेको भन्दै स्थानीयहरु आन्दोलित बनेका थिए ।
स्थानीयहरु श्निबार सखुअवा चौकमा दुई घण्टा सडक अबरुद्ध गरेपछी प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो । त्यसपछी स्थानीयले आन्दोलन स्थगित गरेर चक्का जाम खुलाएका थिए ।
स्थानीय अबधेश महतोको ८ वर्षिय छोरी खुश्बु कुमारी महतोलाई सोही ठाउँका रामनरेश र उनकै भाइ रंजित महतोले रक्षाबन्धनका दिन भदौ १४ गते बिहिवारका दिन अपहरण गरेको आरोप लगाइएको छ । त्यसपछि पीडित परिवारले आफ्नो बच्चालाई बन्धक बनाएको भन्दै अपहरणकारीलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । प्रहरीमा निवेदन परेपछि पक्राउ पर्ने डरले बन्धक बनाएको तीन दिनपछि शनिबार बिहान मात्रै उक्त बालिकालाई अपहरण मुक्त गरेको खुलेको थियो ।
त्यसपछि पीडित परिवारले शनिबार बिहानै दोषी महतोलाई पक्राउ गरी छानबिन गर्न प्रहरी चौकी सुकदेव चौकका असईलाई खबर गरेका थिए । तर प्रहरीले दोषीलाई पक्राउ गर्न आलटाल गरेपछि आक्रोशित स्थानीयहरूले शनिबार बिहानै देखि २ घण्टा सखुअवा चौक स्थित गौर–चपुर सडक खण्डमा प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका थिए ।
स्थानीयहरूले आन्दोलन गरेको २ घण्टा नबित्दै प्रहरीले दुवै जना आरोपीलाई पक्राउ गरेको थियो । दोषी पक्राउ परेपछि स्थानीयहरूले आन्दोलन स्थगित गरी चक्काजाम खुलाएका थिए । पक्राउ परेकाहरू गरूडा प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जनाएका छन ।