रौतहट,१६ भदौ। मौलापुर नगरपालिकाको उपमेयर प्रत्यासि रिना साहले रौतहटको मौलापुर लगायत क्षेत्र नम्बर ३ मा सबै विकास नेकपा माओवादी केन्द्रले गरेको दाबी गरेकी छन्।
सत्तारुढ नेकपा माओवादी केन्द्रले आजदेखि संचालन गरेका ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियानमा सहभागी हुदै नेत्री साहले पार्टीको टिकटबाट पटकपटक चुनाव जितेका र मन्त्री बनेका प्रभु साहले आफ्नो शक्तिले कुनै विकास नगरि पार्टीको शक्तिले गरेको दाबी गरिन्।
मौलापुर नगरपालिका वडा नम्बर ५ मा आयोजित सो कार्यक्रममा नेत्री साहले बोल्दै पार्टी भित्र रहेका धोकेबाज नेता कार्यकर्तालाई बाइपास गरि इमानदार नेता कार्यकर्ताहरु एकढिक्का भएर अघि बढे सबै चुनौतीको सामना गर्न सकिने बताउँदै उनले देशैकै बलियो पार्टीका रुपमा रुपान्तरण गर्न सकिने दाबी गरे।मौलापुर नगरपालिकाको ९ वटै वडामा सो अभियान सम्पन्न भएको छ।
मौलापुर नगरपालिकाको वडा नम्बर १ र २ मा नगर कमिटी अध्यक्ष रामप्रवेश यादवको अध्यक्षता सम्पन्न भएको थियो भन्ने वडा नम्बर ४ र ५ मा नगर कमिटी सचिव लालबाबु साहको अध्यक्षतामा सम्पन्न भएको थियो। रौतहट जिल्ला इन्चार्ज एवम् पार्टीका केन्द्रीय सदस्य अनिल श्रेष्ठले मौलापुर वडा नम्बर ५ मौलापुर बजारमा आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै भोलिदेखि जनताको गुनासो,समस्या बुझ्न तथा अन्तरक्रिया गर्न हरेक वडामा पुग्न निर्देशन दिएका हुन्।
मौलापुर बजारमा आयोजित कार्यक्रममा उपस्थित पार्टीका कार्यकर्ताहरुले रौतहट जिल्ला अध्यक्षको जिम्मेवारी पाएका रौतहट क्षेत्र नम्बर ४ (क) को प्रदेश सांसद समीर भट्टराईका कारण जिल्लाको सांगठनिक अवस्था कमजोर भएको गुनासो गरेका थिए। जिल्लाको प्रतिनिधि छनोटमा पार्टीको कमजोरी गरेको स्थानीय नेताहरु बताउँछन् ।
एक नेता अनुसार कुनै कार्यकरताको समस्या समाधान गर्न अध्यक्ष भट्टराईलाई फोन गर्दा फोन उठाउदैन र कहिलेकाहीँ फोन उठाए पनि समस्यालाई गम्भीरतापूर्वक लिदैन। रौतहटमा माओवादीको अवस्थालाई बलियो बनाउन जनताको समस्या बुझ्ने र हरेक सुख दु:खमा साथ दिने नेतृत्वको छनौट गर्नुको कुनै विकल्प नरहेको माओवादीका कार्यकर्ताहरुले उपस्थित नेतासँग जिकिर गरे।