बिमलेश कुमार झा
२० भदौ,रौतहट। विद्यालयमा भएको जग्गा आम्दानीको मुख्य स्रोत हुन्छ। यसकै आम्दानीबाट निजि स्रोतमा खटिएका शिक्षकलाई तलबदेखि विद्यार्थीलाई भोजनवृत्ति दिन सघाउ मिल्छ । रौतहटको मौलापुर नगरपालिका वडा नम्बर १ का केही राजनीतिक पहुँच भएका व्यक्तिहरुले विगत चार दशकदेखि विद्यालयको २५ बिघा जग्गा कब्जा गरेका छन्।
ती जग्गाबाट विद्यालयमा आम्दानी शून्य रहेको सरोकारवालाले बताउँछन्। विद्यालयको जग्गा अतिक्रम भएको सुचना दिनमा स्थानीय देखि सरोकारवाला समेतले डराउछन्।
साविक गाविस मर्यादपुरको तत्कालीन प्रधानपञ्च कैलाश यादवले लालबकैया नदीको चपेटामा परेका २५ बिघा १४ कठ्ठा ५ धुर जग्गा २०३६ सालमा श्री प्रवि मर्यादपुरको नाममा गरेको थियो। श्री प्रावि मर्यादपुरको स्थापना २०१९ सालमा भएको थियो।
पञ्चायती कालमा स्थापना भएको विद्यालयको नाममा रहेको ती जग्गामा स्थानीय वासिन्दाहरुले खेती गरिरेका छन् तर उनीहरुले जग्गा उपभोग गरेवापत विद्यालयलाई कुनै शुल्क वा आयस्ता बुझाएका छैनन्।
सो जग्गाको नियन्त्रण बारे मौलापुर नगरपालिकाको उपमेयर नागेन्द्र यादवले विद्यालय व्यवस्थापन समिति गठन गरि पहिला देखि जोतभोग गर्दै आएका व्यक्तिसँग सामान्य हुण्डा लिने सर्तमा जोतभोग गर्न अनुमानित दिने बताएका छन ।
उपप्रमुख यादवले उक्त जग्गाको आयस्ताबाट विद्यालयमा थप शिक्षक राख्न मिल्ने भएकाले जग्गा उपभोग गरिरहेका व्यक्तिहरुले हुण्डा दिन आनाकानी गरे अर्को व्यक्तिलाई जग्गा जोतभोग गर्न जिम्मा लगाउने समेत उनले बताए।
विद्यालयको जग्गा जोतभोग गरिरहेको व्यक्तिसँग आयस्ता नदिने कुनै कानुनी प्रक्रिया वा कुनै आधार नरहेको उनलेे दाबी गरे।
उपप्रमुख यादवले लक्ष्मीनरायण जैसवाल,रामएकवाल एकवाल यादव,सोनालाल यादव,गान्धी राय यादव भूतलाल यादव,भोला बरइ लगायतका दर्जनौं भन्दा बढी व्यक्तिहरुले ती जग्गा उपभोग गरिरहेको बताएका हुन्।
त्यसतै वडा अध्यक्ष जैयनाथ कुश्वाहासँग बुझ्दा उनले पनि विद्यालय व्यवस्थापन समितिको गठन गरि ती जग्गा उपभोग गरिरहेका व्यक्तिहरुसँग आयस्ता लिने बताएका छन्।
एक स्थानीय अनुसार उपमेयर नागेन्द्र यादवका निकट रहेका व्यक्तिहरु नेपाल सरकारको नाममा रहेका ऐलानी १२९ बिघा कब्जा गरेका छनभन्ने पूर्व वडा अध्यक्ष रामप्रवेश यादव निकटका व्यक्तिहरुले स्कुल २५ बिघा कब्जा गरेका छन्। यी दुई गाउँका शक्तिशाली नेताहरुले समाजमा आफ्नो राजनीतिक पकड बनाउन ती जग्गा बारे टुंगो लगाउदैन्।
साविक गाविस मर्यादपुर वडा नम्बर -२ मा स्थापित श्री सरस्वती प्रावि र वडा नम्बर ५ मा रहेको श्री प्रावि मर्यादपुरलाई मर्ज गरि हाल श्री माध्यमिक विद्यालय मर्यादपुर बनाइएको छ। मौलापुर नगरपालिकाले करिब २३ कठ्ठा जग्गा खरिद गरि मावि मर्यादपुर सञ्चालनमा ल्याएका छन्।
मावि मर्यादपुरमा शिक्षकको अभाव
मौलापुर नगरपालिका वडा नम्बर १ मर्यादपुरमा अवस्थित श्री मावि मर्यादपुरमा शिक्षकको अभाव देखिएको छ। सो विद्यालयमा मावि स्थाइ शिक्षक एउटा पनि छैन। उक्त विद्यालयमा प्रावि स्थाइ ३,राहत ३,बालविकास २,नगर शिक्षक ६ जना मध्ये ३ जना मावि र ३ जना निमावि रहेको छ। मावि मर्यादपुरको प्रअ दिनदयाल साह अनुसार माविमा ३ र निमाविमा ४ जना अझै शिक्षक थप भए हरेक कक्षाको पठनपाठन व्यवस्थित हुनसक्छ।