कञ्चनपुर । कञ्चनपुरमा गैडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो। च्याउँ टिप्न निकुञ्ज पसेकी बेलडाँडी गाउँपालिका–२ गुन्डी टोलकी ४२ वर्षीय बेलमती बुढाको गैडाको आक्रमणबाट शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।
“बिहान ८ बजेतिर च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गर्नुभएको रहेछ”, उनले भने, “गैँडाको आक्रमण परेर महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी आएको छ ।” ऐरका अनुसार निकुञ्जको टोली अहिले घटनास्थलमा पुगेको छ । मृतक बुढासँगै अन्य दुई महिला पनि आज बिहान च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका थिए । उनका अनुसार दुई जनाले भने रुख चढेर ज्यान जोगाएका छन् ।
आज बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको थियो । सेनाले सँगै च्याउ टिप्न गएका दुई जनालाई रुखमा उक्लिएको अवस्थामा फेला पारेको थियो । दुई गैँडाले बुढालाई आक्रमण गरेको ती महिलाले बताएका छन् ।