रौतहट । असोज ८ गते ।
कर्मचारीको ८ महिनाको तलब कटौती गरि कमिशन आउने योजनामा खर्च गरेको आरोप लागेको छ ।
पदीय दायित्व बाहिर गएर अख्तियार दुरूपयोग गरी चर्चामा पुगेका कटहरिया नगरपालिकाको पूर्व हाकिम साब अर्थात् प्रमुख प्रशासकीय अधिकृतको एक पछि अर्को भ्रष्टाचारको श्रृंखला सार्वजनिक हुन थालेका छन्।
वर्तमानकाल दैनिकले गएको दुई अंकमा लगातार पूर्व प्रशासकीय अधिकृत साहले आफ्नो चार वर्षीय कार्यकालमा गरेका भ्रष्टाचारका फेहरिस्तहरूसहितको समाचार प्रकाशन गरेपछि उनले गरेका थप भ्रष्टाचार एवं अनियमितताका प्रमाणहरू यस पत्रिकालाई उनकै निकटवर्ती स्रोतहरुले उपलब्ध गराउन थालेका छन्।
पछिल्लो पटक प्राप्त खबर अनुसार रामप्रकाश साह कटहरिया नगरपालिकामा बिगत चार कार्यरत रहँदा नगरवासी र नगरको उत्थानको लागि आएका विकास, समृद्धि लगायतका योजनाहरूको बजेटलाई कागजी प्रकृयामा मात्र सीमित गरेर झ्वाम्म त पारेर जनतासँग बेईमानी त गरेकै थिए त्यस पालिकामा काम गर्ने कर्मचारीहरू समेतलाई धरधरी रुवाएर गएका छन्।
कार्यकालको अन्तिम समयमा पनि बिगत आठ महिनादेखि कार्यालयका कर्मचारीको तलब नखुआएर कमिशन आउने योजनामा सो रकम खर्च गरेको पालिका स्रोतबाट थाहा हुन आएको छ।
जसले गर्दा त्यहाँ कार्यरत कर्मचारीहरू ऋण काढ़ेर गुजारा चलाउनु पर्ने अवस्थामा छन्।
अवकाश प्राप्त हाकिम साह नगरपालिकामा रहुन्जेलसम्म कर्मचारी लगायत बिकास निर्माणको काम प्रभावित पारेको कटहरिया नगरपालिकाको ६ फतेपुरका स्थानिय संजय यादबले बताएका छन ।
उक्त नगरपालिकामा काम गर्ने कर्मचारीहरुको समेत तलब नखुवाएर आफ्नो मनोमानि गरि योजना चलाएका मानिसहरुलाई पैंसा बाडेको तर कर्मचारीहरुलाई तलब नदिएको सोहि नगरपालिकाको एक कर्मचारीले आरोप लगाएका छन । कर्मचारीका अनुसार करिब आठ महिनादेखि तलब नदिंदा परिवार चलाउन समेत धौ-धौ परेको गुनासो समेत गरेका छन । हामीले काम गर्दा पनि पैंसा नपाउने तर योजना नै नचलाएको र आफ्नो कमिसनको लागी त्यसको पैंसा समेत निकासा गरेकोमा झन दुःख लागेको बताउनु भयो ।
आफ्नै आसेपासे कर्मचारीलाई अषाढसम्मको तलब दिएको र अरू गरिब कर्मचारीलाई आठ महिनाको तलब राखी कमिसन लिएर योजना चलाईएको र कर्मचारीलाई तलब नदिएको आरोप स्थानीय बिगु मल्लिकले बताए । नगरपालिकामा अहिले १५० जना कर्मचारी रहेको स्थायी, करार, ज्यालादारी कर्मचारी रहेका छन् ।
अवकाश प्राप्त हाकिम साबले जिम्मेवारी सम्हालेको केहि दिन देखि नै उनको मनोमानी रवैयाको कारण कसैसंग तालमेल नगरी जथाभावी रुपमा भुक्तानी गरिदा उक्त नगरपालिकालाई लथालिंग अवस्थामा पुर्याएको जानकारी दिनु भयो ।
कटहरिया नगरपालिका श्रोतका अनुसार नगरप्रमुखले गर्नुपर्ने कार्यलाई समेत ओभरटेक गरेर आफूखुशी मनपरेको तथा व्यक्तिलाई कार्यादेशको साथै कमसल कामको आधारमा भुक्तानी दिएको परिपाटीको कारण उक्त नगरपालिकामा बेथिती र भ्रष्टाचारको पराकाष्ठा नै नाघेको बताउनु भयो । अवकाश प्राप्त गरेका हाकिमको जिम्मेवारीमा रहेका साह लेखा सेक्टरको कर्मचारी रहेको भएपनि उनलाई नै संघिय मामिला मन्त्रालयको अदूरदर्शिताको कारण नै कटहरिया नगरपालिका लथालिंग अवस्थामा पुर्याएको छ । अवकाश प्राप्त कार्यालय प्रमुख साहले नगर स्तरिय देखि अनेकौं योजनाहरुबाट लाखौं रुपैंया घोटाला गरेको स्थानियहरुले बताएका छन् ।
यति मात्र नभई साहले दिवा खाजा तथा औषधिको बोलपत्रको गोप्य रूपमा ४० प्रतिशत कमिशन लिएर टेण्डर निकालिएको थियो । यस विषयमा पनि वर्तमान काल दैनिकले थप प्रमाणहरू फेला पारेको छ, पाठकहरूसामु निरन्तर पस्किरहने छौँ।