काठमाडौं, १९ असोज । पछिल्लो समय नेपालमा अनलाइन सट्टेबाजी चिन्ताजनक रुपमा बढेको छ, जसले देशका युवा र कमजोर अर्थतन्त्रमा दूरगामी परिणाम ल्याएको छ ।
नेपाल राष्ट्र बैंकले बढ्दो यस खतरा रोक्न प्रयास नगरेको होइन । तर पनि निश्चित भुक्तानी गेटवे र बेटिङ कम्पनीहरूसँग जोडिएका एजेन्टहरूको लापरबाहीका कारण भूमिगत जुवा उद्योग फस्टाउने क्रम जारी छ । सरकारले पनि अवैध जुवा खेल्ने गतिविधि रोक्ने प्रयास बढाएको छ । जुवा खेलाउने एजेन्टहरूको पहिचान र पक्राउ गर्ने कार्यलाई सरकारले तीब्र बनाएको छ ।
प्रहरीले अनलाइनमार्फत २४ करोड १५ लाख रुपैयाँ बराबरको सट्टेबाजी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा दमक नगरपालिका वडा नं.१२ घर भएका वर्ष ३० का पिन्टुकुमार साह रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार साहलाई जुवा वा सट्टाबाजी गरेको कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।
उनले बेटिङ गराउने एप तथा वेवसाइटको माध्यमबाट जुवा तथा सट्टाबाजी जस्ता खेल खेलाएर २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँ बराबरको कारोबार गरेको प्रहरीको दाबी छ ।