पर्सा, १३ कात्तिक। पर्सा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका – ५ सुहपुर निवासी ४५ वर्षीय हिरामन यादव, चितवनको कालिका नगरपालिका – ६ निवासी १९ वर्षीय सुजन तिवारी र चितवन कै कालिका नगरपालिका – ३ निवासी १९ वर्षीय शक्ति परियार रहेका छन् ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र अस्थायी प्रहरी पोस्ट सुपौलीबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले पटेर्वासुगौली गाउँपालिका – ५ निचुटा नौगछियाबाट लागूऔषध गाँजासहित हिरामन यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
विशेष सूचनाको आधारमा शनिबार राती साढे ११ बजेकोस अमयमा खटिएको प्रहरी टोलीले बिआर २२ एई ६७४० नम्बरको स्पलेण्डर मोटरसाइकललाई रोकी चेकजाँच गर्दा चालक हिरामनले मोटरसाइकल पछाडि बोरामा राखेको १० किलो लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।
यादवलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको डिएसपी थापाले बताए ।
यसै गरी अस्थायी प्रहरी पोस्ट ईनर्वा गाउँबाट खटिएको नियमित चेकिङ टोलीले वीरगञ्ज – १६ ईनर्वागाउँ चोकबाट लागूऔषध खैरो हेरोइनसहित सुजन तिवारी र शक्ति परियारलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूमाथि शङ्का लागेर चेकजाँच गर्दा सुजनको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १.५ ग्राम र शक्तिको साथबाट प्रतिबन्धित लागूऔषध नाईट्राभेट ९ पत्तामा ३० ट्याब्लेटका दरले जम्मा २७० पिस नाईट्राभेट ट्याब्लेट फेला परेको डिएसपी थापाले जानकारी दिए ।
दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको डिएसपी थापाले जानकारी दिए ।