क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा जारी बहस बिहिबार पनि टुङ्गिएन । बहस नटुङ्गिएपछि यसलाई आज शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । बुधवार वादी पक्षले बहस सकि प्रतिवादीका तर्फबाट मुरारी सापकोटाले बहस सुरु गरेका थिए ।
बुधवार मुरारीको बहस नसकिएकाले बिहीबार पनि मुरारी सापकोटाले नै बहसको सुरुवात गरेका थिए । त्यसपछि अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए । रमणकुमार श्रेष्ठको बहस नसकिएकाले शुक्रवार पनि रमणले नै बहसको सुरुवात गर्नेछन् । रमणपछि अधिवक्ता रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्ने तयारी गरेका छन् ।
आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए । पहिलो दिन वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरू जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए ।
त्यसपछि हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बुधवार जाहेरवालीका तर्फबाट ल्याक नेपाल लगायतका संघ संस्थाका कानुन व्यवसायी र स्वतन्त्र अधिवक्ताहरूले बहस गरे। बुधवार अधिवक्ताहरू आस्मा आचार्य, नारायण चौलागाई, शशी अधिकारी, शान्ति काफ्ले, मोहना अन्सारी, अञ्जना अर्याल, प्रतिमा खरेल र ल्याक नेपालकी अध्यक्ष अनिता थपलिया गरी १० जनाले बहस सकाएका थिए। बुधवार नै प्रतिवादीका तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेका थिए । प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ शुक्रबार नै टुङ्ग्याउने तयारी गरिएको छ ।