सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पुनर्संरचना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कम हुने जानकारी दिइन् ।
कटौती भएका दरबन्दीका कर्मचारी अब अन्यत्र काम गर्ने उनले बताइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनको एक वर्ष पुगेको अवसरमा सम्बोधनका क्रममा सरकारको काम गर्ने तरिका बदल्ने भनेको भन्दै मन्त्री शर्माले त्यो काम प्रधानमन्त्री कार्यालयबाटै सुरु भएको बताइन् । प्रधानमन्त्री कार्यालयमा ६ दर्जन कर्मचारी अनावश्यक छन्, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यालयमा ६ दर्जन कर्मचारी अनावश्यक रहेको भन्दै प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने घोषणा गरेका छन् ।
पत्रकारसँग विस्तृत अन्तर्वार्ता दिंदै प्रधानमन्त्री प्रचण्डले कार्यालयसँगै सचिवालय पनि चुस्तदुरुस्त पार्ने सुनाए ।
‘प्रधानमन्त्री कार्यालयलाई जति व्यवस्थित हिसाबले लैजानुपर्ने हो, त्यसमा आफ्ना सीमा महसुस गरेको छु, आज क्याबिनेट बैठकमा निर्णय गराएरै प्रधानमन्त्री कार्यालयको संरचना बदल्छु’ प्रधानमन्त्रीले भने, ‘६ दर्जन कर्मचारी अनावश्यक छन्, त्यसलाई कसरी चुस्तदुरुस्त बनाउने भनेर प्रक्रिया सुरु गरिसकेको छु ।’उनले संरचना बदल्ने प्रक्रियाबारे विस्तृत नबताए पनि गृहकार्य भइरहेको बताए ।
प्रधानमन्त्रीले आफ्नो कार्यालयसँगै सचिवालयमा पनि उल्लेख्य हेरफेर गर्ने संकेत दिए । एकवर्षे अनुभवले आफूलाई हेरफेरको आवश्यकता महसुस भएको उनले बताएका छन् ।